टेकुमा फोहोरबाट बल्न थाल्यो बिजुली, १४ किलोवाट बिजुली उत्पादन

टेकुमा फोहोरबाट बल्न थाल्यो बिजुली, १४ किलोवाट बिजुली उत्पादन
काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरबाट १४ किलोवाट विद्युत उत्पादन गरेको छ। राजधानीको टेकु स्थित पाँच हजार स्क्वायर फिट क्षेत्रफलको जग्गामा रहेको टेकु ट्रान्सफर्मर स्टेसनमा ३०० मेट्रिक टन फोहोरबाट बिजुली उत्पादन सुरु गरिएको हो।
उत्पादित बिजुली परीक्षणका लागि महानगरले आफ्नै कार्यालयमा जडान गरेको छ। ‘बिजुली उत्पादन गरेपनि हामी अझै परिक्षण कै चरणमा छौं’ महानगरको वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले भने। परीक्षणकाल पश्चात उत्पादित बिजुली महानगरको १२ नम्बनर वडास्थित टेकुको सडकमा बालिने उनले जानकारी दिए।
‘सुरुमा हामीले फोहोरबाट बिजुली निकाल्छौं भन्दा हावामा उडाइएको थियो, उनले भने- तर अब हामी सफल भएका छौं।’पाइलट प्रोजेक्टको रुपमा सुरु गरिएको बायोमिथानेसन प्लान्ट मुलुक मै अनुकरणिय बन्ने महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रमान सिंह तामाङले बताए । यो कार्यक्रम आगामी दिनमा अरु नगरपालिकामा बिस्तार गर्ने उनले जानकारी दिए।
गत भदौमा महानगरपालिका नेतृत्वमा बिजुली उत्पादन परिक्षणका लागि फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, हिमालयन अलायन्स फर क्लाइमेट चेन्ज (एचआइएमसीसीए) र त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इञ्जिनियरिङका पाँच प्राविधिक तथा विशेषज्ञ सहितको समिती गठन भएको थियो।
दसैं अगावै बिजुली निकाल्ने तयारी गरेपनि प्राविधिक कारणले ढिलाई भएको जनाइएको छ। चार करोड रुपैयाँको लागतको परियोजनामा ८० प्रतिशत युरोपेली संघ र बाँकी २० महानगरपालिकाले लगानी गरेको छ। सन् २०१४ फ्रेबुअरीमा युरोपेली संघ र काठमाडौं महानगरपालिकाको साझेदारी एवं एचआइएमसीसीएको प्राविधिक सहयोगमा ‘पाइलट प्रोजेक्ट’ को रुपमा यो परियोजना सुरु भएको हो। प्लान्टबाट खाना पकाउन मिल्ने बायो ग्यास समेत उत्पादन हुन्छ।
यसरी निकालिन्छ फोहोरबाट बिजुली?
बायोमिथानेसन प्लान्टमा जैविक फोहोरलाई संकलन गरेर भाँडोमा हालिन्छ। त्यो भाँडोमा पानी छुट्याउने दुईवटा मेशिन हुन्छन्।  मेसिनबाट छानिसकेपछि फोहोरलाई कुहाएर ग्यास बनाइन्छ स्टक गर्ने भाँडोमा पठाइन्छ।
यहि ग्यासबाट जेनेरेटर प्रयोग गरि बिजुली निकालिन्छ। यो प्लान्टले हानिकारक ग्यास कार्बोनमोनो अक्साइडलाई प्रति वर्ष दुई हजार पाँच सयको दरले घटाउने श्रेष्ठले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.