मेरो चितवन

मेरो चितवन

14448907_310794589281733_4089255122761835547_n

केशब राज आमोदी

छन्द:- शार्दूलविक्रीडित
…………………….
यौटा चित्र , विचित्र चित्रवनको मस्तिष्कमा घुम्दछ-
मायाका टकले भुलेर दिल यो यै भूमिमा रम्दछ ,
बास्ना छर्दछ मृत्तिका कुसुममा वासन्तिकी रंगझैं,
त्यै छायाँ-छविमा मिली प्रकृति नै बस्ने सदा दंग भै ।
०००
स्रष्टा सिर्जनमा जुटे,दिल लुटे,झन् काव्य-धारा छुटे-
स्वार्थी सोच टुटे ,कुशासन छुटे ,आलस्यता भो ठुटे ।
शिक्षा-सौरभ ली उठे,कुपथका गन्तव्य आफैं छुटे
मेरो राष्ट्र अवश्य लाग्दछ उँभो नेपालवासी जुटे ।
० ० ०
यातायात खुला , प्रकाश्य धरती छन् चित्त आकर्षिणी
दिन्छिन् कल्कल नाद पुण्य सलिला स्वच्छन्दता नारायणी
यो हो वीर सपूतको रगतले आच्छन्न वीरस्थल
यो हो चन्चलपूर्ण वन्य-पशुको उन्मुक्त क्रीडास्थल ।

यो  हो क्षेत्र किसानको, श्रमिकको, संगीतको,नृत्यको-
सच्चा धार्मिकको स्व-राष्ट्र प्रियको वा चारवर्णादिको ,
यो हो शान्त तपोव्रती ऋषि मिली गर्ने तपस्या स्थल-
यो हो पावन-धाम सन्त जनको निष्काम कर्मस्थल ।
० ०। ०। ०
प्रज्ञा हाँस्छ,कला रमाउँछ स्वयं ,खुल्दो छ झन् संस्कृति-
भाषा भाव अनेक छर्छ जनमा आनन्द भर्दै अति
मान्छे नाटक गर्छ रंग-गृहमा,उद्योग,वाणिज्यमा,
स्पर्धा गर्छ बिकासमा, प्रगतिमा ,नेपाल निर्माणमा ।
० ० ०

Leave a Reply

Your email address will not be published.