प्रेमको लागि विज्ञापन दिइरहनु जरुरी छैन

प्रेमको लागि विज्ञापन दिइरहनु जरुरी छैन

काठमाडौं  -भ्यालेनटाइन डे अर्थात् प्रेम दिवशको काउन्टडाउन शुरु भैसक्यो। नेपालमा अहिले यो भ्यालेनटाइन डे यति धेरै लोकप्रिय भइसक्यो कि मानिसहरुले नेपालका अन्य कयौँ दिवसहरुलाई भन्दा पनि यस दिवसलाई विशेष प्राथमिकता र महत्वका साथ मनाइरहेका हुन्छन्। अझ भन्नुपर्दा प्रेम दिवश मनाउने हाम्रो संस्कार नै बनिसक्यो। बरु नेपालको राष्ट्रिय दिवशको दिन पसलहरु नेपालको झण्डाले त्यति रंगिएको हुदैन होला तर प्रेम दिवश आउनुभन्दा एकमहिना अगाडि देखिनै हरेक पसलहरुले प्रेम बेचिरहेका हुन्छन्।

हरेक पसलले तोकेको मूल्यमा वा डिस्काउन्ट दिइदिइ भएपनि प्रेमको घाटा नलाग्ने राम्रै व्यापार गरिरहेका हुन्छन्। त्यसैले, हाँसोमा नै भए पनि म साथीहरुलाई भन्ने गर्छु, कतारले बरु २०२२ फिफा वल्र्ड कपको तयारी त्यसरी गरेको छैन होला जसरी प्रेमीप्रेमीकाले भ्यालेन्टाइन डे को गरिरहेका छन्।

आफ्नो प्रेम रोमियो–जुलियट, टाइटानिकको रोज–ज्याक, मुनामदन वा राधा–कृष्णाको जस्तो हो भनी दर्साउन एकअर्कालाई रोज डेमा अरुको फूलबारीबाट गुलाफको फूल चोरेरै भएपनि फूल दिइरहेका हुन्छन्। प्रपोज डेर्मा आई लभ्यू’, चक्लेट डेमा चक्लेट, टेड्डी डेमा टेड्डी , प्रमीस डेमा सधै खुसी राख्छु भन्ने वाचा, हग डेमा अँगालो र त्यसैगरी किस डेमा चुम्बन गरेरै भएपनि सम्बन्धलाई मिठास दिन खोजेकै हुन्छन्।

यसरी प्रेमीप्रेमीकाले भ्यालेनटाइन डेको बाहानामा महँगो उपहार किनिदिने देखि लिएर एकअर्कालाई विभिन्न सरप्राइजेजहरु पनि दिइरहेका हुन्छन्। कतिपयले त भ्यालेनटाइन डेमा मात्रै नभई आफू प्रेमसम्बन्धमा रहुँनजेल एकअर्काको बाबुआमा देखि लिएर घरपरिवारको निकट व्यक्तिहरुलाई पनि विभिन्न तरिकाले स्पेसल महसुस गराइरहेका हुन्छन्। सपिङ्ग, डिनर , लन्चमा लगेर हुन्छ कि अथवा अप्ठ्यारो परिस्थितीमा आर्थिक सहयोग गरेर हुन्छ परिवारसँगपनि निकटता कायम राख्न चाहिरहन्छन्।

तर, कुनैदिन यस्तो परिस्थिती आउन सक्छ र्कि लभ बर्ड’ भनेर चिनिएको जोडीको मिलन हुन सक्दैन। प्रेममा मिलन आवश्यकता ठान्नेहरुले विछोडको पीडालाई सहन नसक्दा आवेगमा आएर कतिले आफूलाई सिध्याउँछन् भने कतिले एकअर्काको हत्या पनि गरिरहेका हुन्छन्। अथवा, प्रेमको अर्थ बुझेको भनिएकाहरुले एकाएक एकअर्कालाई दोष लगाउनदेखि लिएर एकअर्काको विरोधी बन्न पनि पछि हट्दैन।

हामीले समाजमा देखीरहेका छौ मानिसहरु सम्बन्धमा नरहेपछि पहिला दिएका महँगा उपहारहरु फिर्ता माग्ने, त्यसको परिवारलाई मैले यतीसम्म सहयोग गरेको भनेर समाजमा भन्दै हिड्ने, एकअर्कासँग विताएका ती पलहरुको अलिकति पनि इज्जत नगरी समाजमा एकअर्कालाई बदनाम गराएर अरुबाट सान्तवना बटुल्दै हिड्ने।

उसको लागि मैले के समेत मैले गरिन, घण्टौ कुरिन कि , काम छोडेरै भएपनि घुमाउन लगिन कि र उ विरामी हुँदा रातभर हस्पिटल बसिन कि…………… हेर, पाँच वर्षसम्म यो सम्बन्ध टिकाएको म भएर मात्रै हो, मेरो ठाउँमा अरु कोही भएको भए यसलाई एकदिन पनि सहन सक्दैनथ्यो’’ आदि इत्यादि भनेर साथीभाइलाई सुनाउने।

के प्रेम यही हो ?

के प्रेममा यति धेरै घमण्ड र अहंकारी हुन जरुरी छ ?

के तिमीले गरेको प्रेमको वजन यती धेरै हलुका छ ?

तिम्रो शब्दकोषमा प्रेमको पर्यायवाची शब्द बदला हो ?

तिमीले आदर्श मानेको रोमियो–जुलियट देखि राधा–कृष्णासम्मका पात्रहरुको पनि कहिले मिलन भएको थियो र?

तिमीले मनाइरहेको भ्यालेनटाइन डेको इतिहास पनि त वियोग र विछोडकै कथा रहेको छ होइन र?

प्रेममा मिलन अनिर्वाय छ भन्ने कस्तो प्रेमआदर्श हो तिम्रो ?

प्रेम गर्छु भनेर मात्र हुदैन, प्रेम गर्न विशाल ह्दय चाहिन्छ। प्रेम पाउछु भन्ने साहस जति ह्दयमा हुन्छ त्यति नै प्रेम नपाउनपनि सकिन्छ भन्ने यथार्थ मनमस्तिष्कमा हुनुपर्दछ। मिलनमा पनि बिछोडमा पनि प्रेमलाई एउटा आदर्श दर्शन बनाउन सक्नुपर्छ।

यदि हामीले कसैलाई प्रेम गछौ भने त्यो सम्बन्ध भनेर हिडिरहन आवश्यकता पनि छैन। यदि प्रेम छ त प्रेमको महसुस जीवनभर हुनसक्दछ। चाहे त्यो प्रेम विवाहमा परिणत होस् वा नहोस्। कसैलाई गरेको प्रेम आवास गरिरहनको लागि जीवनमा त्यो सम्बन्धलाई नाम दिइरहनु र नाम खोजिरहनु आवश्यकता पनि छैन।

हामी त प्रेमको त्यो समयमा बाँच्न सक्नुपर्छ। पछि गएर त्यही महसुस त्यही समय खोजेर पनि पाइदैन। प्रेममा जति विताउँछौ त्यो एक एक पललाई इज्जत गरेर बडो प्रेमिलका साथ सजाउनुपर्दछ।

हामीले कति सुनिपनि रहेका छौ प्रेम विवाह गरेका श्रीमान् श्रमितीले गुनासो गर्छन् खै, पहिलाको जस्तो प्रेम नै गर्दैन उसले आजकाल।’’ उनीहरुले एकअर्कालाई ती दिनहरु विर्सिएको आरोप पनि लगाउँछन्। कहिलेकाँहि त यो गुनासो नै यती धेरै विशाल बनिदिन्छ कि डिभोर्स नै हुने स्थिती पनि आइदिन्छ।

प्रेमलाई प्राप्ती गर्ने यही मानिसहरु किन बुझिरहेका हुदैँन कि त्यो समय प्रेमको मिठास छुट्टै थियो र यो समयको मिठास छुट्टै छ। एउटै मान्छेसँग विभिन्न परिस्तिमा विभिन्न प्ररकारको प्रेम अनुभव गर्न पाउनु एउटा राम्रो अवसर पनि हो, जुन सबैले पाइरहेको पनि हुँदैन।

एकचोटि भगवान श्रीकृष्णलाई राधाले सोधेछ – कृष्णा म तिम्रो कहाँ कहाँ छु ? कृष्णले राधालाई आफ्नो छातिमा टाँस्दै भनेछ राधे तिमी मेरो मुटुमा छौ , धड्कनमा छौ , तनमा छौ, मनमा छौ , मसँग जोडिएको हरेक चीजमा छौ तिमी।’’ अनि राधाले प्रतिप्रश्न गर्छिन्। त्यसो भए म कहाँ चाँहि छैन?’’ कृष्णा उसलाई अझ कसेर अँगालोमा बाँध्दै गम्भिर हुदैँ भन्छ –तिमी मेरो भाग्यमा छैनौ राधे।’’ यो कटु सत्य सुनेर पनि राधा मौन बसिन् तर कृष्णलाई भने प्रेम गर्न छोडिनन्।

भनिन्छ राधा कृष्णा भन्दा जेठी थिइन् , उनीभन्दा तल्लो जातकी थिइन्, विवाहपछि पनि उनले राधालाई सम्झिरहेँ। उनले समाजको नीति नियम र संस्कारलाई नमानेर आफू भन्दा जेठी , तल्लो जातको र विवाहपछि पनि उनको सम्झनामा राधा महल बनाएको थियो रे।

यसरी कृष्णले राधालाई आफ्नो तपस्या बनायो अनि राधाले पनि कृष्णा आफ्नो साधना बनाइन्। उनीहरु जीवनभर सँगै रहेनन् तर जहाँ जहाँ गए एकअर्कालाई मनमा बोकेर हिडिरहे। न त कृष्णाले मैले राधाको लागि यतिधेरै गरे भनेर गुनासो गर्र्यो न त राधाले नै मलाई अन्याय भयो भनेर पन्चायत बोलायो। उनीहरुले जे जे गरेँ आफ्नो स्वीकारोक्तिमा गरेँ, विवाहमा दुई व्यक्तिको खाँचो हुन्छ तर हामी त एउटै हो किन यो सम्बन्धलाई अर्को नाम खोज्ने भनेर एकअर्कालाई कहिले धर्मसंकटमा पारेनन्।

राधालाई अन्याय भयो भनेर सोच्ने हामी भयौ, कृष्णालार्ई प्लेब्वाई’ भन्ने हामी भयौ। तर राधाकृष्णले एकअर्काको विरोध गरेर यो कुराहरु एकअर्काको बारेमा कहिले सोचेन र एकआर्कालाई नकारात्मक रुपमा कहिल्यै विश्लेषण गरेनन्। प्रेमलाई न त विश्लेषण गर्न जरुरी छ न त समालोचना नै। प्रेमलाई प्रेमकै भाषामा महसुस गरे पुग्छ।

प्रेममा त एक अर्काको कमजोरी र शक्तिलाई अपनाउन जरुरी छ। एकअर्काको राम्रो पक्षलाई मात्रै अपनाउने नराम्रो पक्षलाई सहन नसक्ने हुदैँन प्रेममा। एकअर्कासँग जोडिएका हरेक चीजलाई इज्जत, मान सम्मान र माया दिएको हुन्छ। प्रेमर्मा म’ को कहिल्यै हावी हुदैँन, जहिलेपर्नि हामी’ भन्ने भावबाट प्रेमको सुरुवात हुन्छ। राधा कृष्णाले पनि जीवनमा जस्तो परिस्थिति आएपनि एकअर्काको कमीकमजोरी, शक्तिलाई अपनाएर हिडिरहेँ। उनीहरुले कसैको नकारात्मक टिकाटिप्णी सुनेन् र अन्तयमा प्रेममूर्ति भई इतिहासको पानामा सुनौलो अक्षरले कोरिए।

कृष्णलीला पढ्दा कुष्ण र राधाको वैवाहिक मिलन नभएकोमा मलाई त्यति धेरै दुःख लाग्दैन तर बरु यो कुराले सन्तुष्ट दिलाउँछ कि कमसेकम उनीहरुको प्रेम कथाले एउटा दर्शन त छोडेर गएको छ। उनीहरुको कथा मैले एउटा सन्देशको रुपमा लिएको छु, अघि भनेझैँ एउटा ठूलो दर्शन लुकेको छ। यदि विवाह हुन्थ्यो भने जगतले यो हदसम्मको प्रेमलाई उदाहरण लिन पाउँदैनथ्यो होला। हामीले गरिने प्रेम प्रप्ति हुन पनि सक्छ, प्रेम प्राप्ति नहुन पनि सक्छ तर मुल कुरा प्रेम गर्न छोड्न हुँदैन भन्ने ज्ञान पनि हो।

राधाकृष्णको प्रेमकहानीले प्रेमलाई अर्को ढंगबाट बुझउन पनि प्रयास गरिरहेको छ। शारीरीक रुपमा सधै रहिरहनुको मात्र अर्थ प्रेम होइन। यहाँ प्रेमीप्रेमीको कुरामात्रै नभई श्रीमान् श्रीमतीहरुकै कुरा गर्दा पनि हामीले देखेका छौ,कतिजनाले श्रीमान् मर्दा अर्कोसँग विवाह गरेर पनि पहिलाको श्रीमान्लाई प्रेम गरिरहेको हुन्छ भने कतिजनाले श्रीमती मरेपछि पनि अर्को विवाह गरे बस्दा पहिलो श्रीमतीको सम्झनामा केही कार्यहरु गर्ने गर्छन्। हो, प्रेम अनन्त हुन्छ , एकअर्काको मृत्युपछि पनि उसको महसुस खड्किरहने नै प्रेम हो।

कहिले काँहि दुई महिना मात्रै सम्बन्ध रहेको प्रेमीप्रेमीकाको याद नौ वर्षसँग रहेको भन्दा पनि बढी आउँछ। यदि दुईमहिनाको प्रेम ९ वर्षमा भोगेको भन्दा पनि अलौकिक छ भने त्यसको मिठास शाश्वत हुन्छ। महसुस गराइरहनुमा नै छ असली प्रेमको जीत। शारीरीक सम्पर्कमा नहुँदैमा, चुम्बन नहुँदैमा, फोनमा चौबीस घण्टा नबोल्दैमा, प्रेम टुट्यो भन्ने हुँदैन। प्रेम त त्यो हो विनासम्पर्कपछि धेरै वर्षमा भेट्दा पनि उसको लागि मुटु धड्कियोस् , त्यही महसुस होस्, त्यही सद्भाव होस्, सुखद अनुभूति गर्दै आँखा रसायोस्, एकपटक पुन कसिलोसँग अँगालोमा बाँधिन मन लागोस् अनि अन्त्यमा धेरैबेर गफ गरेपछि छुटिन पनि गाह्रो नहोस्।

मिलनमा मात्रै प्रेम प्राप्ति हो भनेर सोच्नुमा प्रेम हुँदैन। त्यसैले प्रेम ढुँगा जस्तो साह्रो होइन, गुलाव जस्तो कोमल हुनुपर्छ भन्दछन्। हरपल भेट्दा हरपल महसुस गर्दा त्यो प्रेम एउटा कुनामा ढड्किरहोस्।

मेरो मान्यतामा प्रेम बुझेर गर्नुहुदैन, प्रेममा बुझेर बाँच्नु हुदैँन। प्रेमको लागि कोही योग्य छ छैन भनेर जाँचेर पनि प्रेम गरिदैन। प्रेम गर्न विवाहको जस्तो विज्ञापन दिएर हुने कुरा पनि होइन। उचाइ यति इन्च, हुलिया यस्तो, जात यो, पेशा यो, यती उमेरको, खानदानी यो भनेर खोजेर प्रेम हुने होइन। प्रेम त वश जतिखेर पनि जे रुप लिएर पनि आउन सक्छ। प्रेमको गन्तव्य सोचेर मात्रै प्रेम गर्नुको अर्थ पनि छैन। प्रेमबाट कुनै ठूलै उपलब्धि होला भनेर आशा गरेर प्रेम गरिने पनि होइन।

यति भन्दा भन्दै पनि कहिकाँहि हाम्रो मन किन मान्दैन त ? दुःख लाग्छ, चोट लाग्छ, चिच्याएर रुन मन लाग्छ, गाली गर्न मन लाग्छ , के अब यो पनि नगर्ने त?

दुःख लाग्नु , रिस उठ्नु स्वभाविक पनि हो। हामी मानव हौ, नौ रसले भरिएको मानव। हामी भित्र श्रृङ्गार, हाँस्य, करुणा, रुद्र, वीर, भयानक, वीभत्स, अद्भुत र शान्त स्वभाव हुन्छ। यी रस बोकेका हामीमा अन्य मानिसहरुसँग मात्रै होइन आफ्नै प्रेमीप्रेमीकासँग व्यवाहर गछौँ।

हामीले प्रेम गर्दा भगवान भएर पनि गर्ने होइन। हामीले प्रेम यही नौ रस मिसिएको मानव भएर नै गर्ने हो तर अन्तिममा बुझ्नुपर्ने कुरा भनेको विछोड र मिलन त वश एउटा भाग्य प्रक्रिया मात्रै हो तर यो भन्दा ठूलो कुरा सँगै रहेपनि नरहेपनि प्रेममा बाँच्नु हो। सधैँभरी प्रेमलाई प्रेम गर्नु, इज्जत गर्नु, जतिटाढा भएपनि एकअर्काको खुसीको कामना गर्नु, आफ्नो प्रार्थना र आरधनामा उसको पनि प्रगति माग्नु नै आफूले गर्ने प्रेमलाई न्याय गर्नु हो।

एउटा नेपाली मनोवैज्ञानिक चिकित्सकले एउटा किस्सा सुनाउनु भएको थियो। एकपटक उहाँको किल्निकमा ६२ वर्षको एउटा बुढीआमा जचाउनु आउनुभएछ। कुराकानीको क्रममा उहाँले आफ्नो तेस्रो विवाह भएको र बल्ल आफूर्ले सोल मेट’ अर्थात् मनको साथी/प्रेमी भेटाएको बताउनुभएछ। उहाँ एकदमै खुसी देखिनुहुन्थ्यो रे। उहाँलाई सोल मेट पाउन ६२ वर्ष कुर्नुपरेछ। यो कुरा सुनेर म चाँहि कन्भिन्सड् भएँ। यो असम्भव हुन्छ भन्ने हुँदैन। हाम्रै समाजमा पनि कति यस्ता नखुलाइएको, नलेखिएको, नसुनाइएको मनस्थिती होला। तर हाम्रो संस्कारले यसलाई बाहिर निस्कन दिदैन। यस्तो चाहनाको अगाडि एउटा ठूलो भव्य लक्षण रेखा कोरिदिएको छ। खैर, ६२ वर्षको उमेरमा तेस्रो लोग्ने पछि बल्ल ती बूढीआमालार्ई आफ्नो मनमिल्ने मान्छे पाएको महसुस भयो र यो उदाहरणबाट पनि स्पष्ट हुन्छ प्रेम त आखिर जुन समय जुन हिसाबले पनि त हुँदो रहेछ।

कविहरुले लेखेको करोडौँ कविताहरुको शब्द भन्दा पनि धेरै भाव हुन्छ प्रेममा , चित्रकारले कोरेको चित्र भन्दा पनि बढी रहस्य बोकेको हुन्छ प्रेमले, गायकले महसुस गरेर गाएको भन्दा पनि बढी महसुस हुन्छ प्रेम। प्रेमको यो नै परिभाषा हो भनेर नभएकै कारण अहिले पनि मानिसहरुले आफ्नै भोगाइ अनुसार यसलाई परिभाषित गर्न खोज्दैछन्।

हरेक प्रेम आदर्श बन्न सकोस्। प्रेम कहिल्यै अराजक नहोस्। हरेक प्रेममा एउटै आत्मा, एउटै संसार, एउटै जीवन, एउटै अर्थ र एउटै सम्बन्ध देख्न सकौँ। यही छ तपाइँहरु सबैलाई मेरो प्रेम दिवशको शुभकामना।

Leave a Reply

Your email address will not be published.