राष्ट्रिय सभा निर्वाचन : ६ वटा प्रदेशमा मतदान सुरु

राष्ट्रिय सभा निर्वाचन :  ६ वटा प्रदेशमा मतदान सुरु

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ६ वटा प्रदेशमा मतदान सुरु भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तय भएको छ ।

६ वटै प्रदेशमा मतदान सुरु भइसकेको छ । सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको भए पनि प्रदेश नम्बर २ मा सबै सदस्य निर्विरोध निर्वाचित भएकाले मतदान गर्नुनपर्ने निर्वाचन आयोगले जनाएको छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा (२) र राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ३ (१) अनुसार, प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले  दिएको मतको आधारमा एकल सङ्क्रमणीय मत प्रणाली बमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले कुल ५६ जना राष्ट्रिय सभा सदस्यहरू निर्वाचित हुने व्यवस्था छ । प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुनेछन् ।

“महिला तीन र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि भने राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेशअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उमेदवार निर्वाचित हुनेछन्,” प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भने ।

निर्वाचनमा २१ राजनीतिक दलले भाग लिन आयोगमा निवेदन दर्ता गराएकोमा १३ वटा राजनीतिक दलबाट जम्मा ८३ जनाको उमेदवारी दर्ता भएको थियो । ६ जना उमेदवारले नाम फिर्ता लिएका थिए । एक जनाको उमेदवारी रद्द भएको र २४ जना निर्विरोध निर्वाचित भएका छन् । कुल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अब ३२ सदस्यका लागि ५२ जना उमेदवार निर्वाचनको प्रतिस्पर्धामा छन् ।

निर्वाचनका लागि आयोगले सातवटै प्रदेशमा उच्च अदालत रहेका जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदान गराउनका लागि १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको थियो ।  तर प्रदेश नम्बर २ मा आठै जना सदस्यहरू निर्विरोध निर्वाचित भइसकेकाले त्यहाँ मतदान गर्नु नपर्ने र अब बाँकी ६ वटा प्रदेशमा मात्रै मतदान हुनेछ ।  प्रदेश नम्बर १ मा महिला ३ र अन्य ३ गरी ६ जना उमेदवार निर्विरोध निर्वाचित भइसकेकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १  गरी जम्मा २ सदस्यका लागि  मतदान हुनेछ ।

प्रदेश नम्बर ३ मा ८ वटै पदमा मतदान हुनेछ भने प्रदेश नम्बर ४ मा अपाङ्गता भएका वा अल्पसङ्ख्यक  समुदायबाट १ सदस्यमा उमेदवार निर्विरोध निर्वाचित भएकाले अन्य सदस्यमा निर्वाचन हुनेछ । यसैगरी, प्रदेश नम्बर ५ मा महिला ३ सदस्यमा  उमेदवारहरू निर्विरोध निर्वाचित भइसकेकाले अन्य ३, दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा ५ सदस्यमा निर्वाचन हुने भएको छ ।

त्यस्तै, प्रदेश नम्बर ६ मा सबै पदमा निर्वाचन हुँदैछ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ सदस्यमा उमेदवारहरू निर्विरोध निर्वाचित भएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा २  सदस्यमा निर्वाचन हुने प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए ।

प्रदेश नम्बर ३ मा जम्मा ३४८ मतदाता रहेका छन् । स्थानीय निकायका प्रमुख र उपप्रमुख गरी २३८ र ११० जना प्रदेशसभा सदस्य रहेका छन् । उनीहरु मतदानका लागि लाइनमा बसिसकेका छन् ।

Leave a Reply

Your email address will not be published.