एमालेले एमालेलाई हराउने छुट छैनः केपी ओली

एमालेले एमालेलाई हराउने छुट छैनः केपी ओली

काठमाडौं, जेठ २८  । एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारीमा असन्तुष्टि राखेर एमालेले एमालेलाई नै हराउने छुट नरहेको भन्दै चुनाव जितेपछि मात्र गुनासाहरुको सुनुवाई हुने बताएका छन् । चुनावी प्रचारका क्रममा बाँकेको नेपालगन्ज पुगेका ओलीले आइतबार कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने- असार १४ गतेपछि पनि घाम लाग्छ, कसैको असन्तुष्टि छन् भने तीनको समाधान चुनावपछि हुनेछ ।

झापा, मोरङ, रुपन्देही लगायतका केही ठाउँमा उम्मेदवार चयनमा असन्तुष्टि भइरहेका बेला ओलीले पार्टीले घोषणा गरेका कुनै पनि उम्मेदवारको नाम अब हेरफेर नहुने बताए । उनले भने- अब कुनै पनि उम्मेदवारको नाम फिर्ता हुदैन । जसले टिकट पायो उही राम्रो उम्मेदवार हो भनेर चुनाव जिताउन लाग्नुस् । सबैको मूल्यांकन त्यसपछि हुनेछ ।

चुनावमा खटिन निर्देशन

अध्यक्ष ओलीले अभागीलाई खाने बेला रिस उठ्छ भन्ने उखान सुनाउँदै एमाले कार्यकर्तालाई जित्ने बेलामा रिस उठ्ने रोग लाग्न थालेकोमा चिन्ता व्यक्त गरे । ‘अभागीलाई खाने बेला रिस उठ्छ, अर्कोले खाइदिएपछि रित्तो थाल हेरेर बस्छ । एमाले कार्यकर्ताले जित्ने बेलामा असन्तुष्टि जनाउने हो भने अर्कोले जित्छ अनि पुर्पुरोमा हात राखेर बस्नुपर्छ,’ ओलीले भने ।

ओलीले पार्टीलाई चुनाव जिताउनका लागि दिनमा ३/४ घण्टामात्र सुत्ने गरेको भन्दै कार्यकर्तालाई पनि चुनावसम्म गर्मी झेलेरै चुनावमा खटिन निर्देशन दिए । उनले कार्यकर्तालाई ‘धनुषबाट छुटेको बाँण जस्तै’ हुन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published.