नगरपालिकाको अकर्मण्यताले सधैँ दुर्गन्धित मेलम्ची

नगरपालिकाको अकर्मण्यताले सधैँ दुर्गन्धित मेलम्ची

मेलम्ची, पुस २६ । सिन्धुपाल्चोक जिल्लाको मुख्य बजारका रुपमा चिनिँदै आएको मेलम्ची बजारबाट संकलित फोहरमैलाको उचित व्यवस्थापन नहुँदा बजारमा निकै दुर्गन्ध फैलन थालेको छ ।

मेलम्ची नगरपालिकाका १३ वटा वडामै फोहर उठाउन न नगरपालिका पुगेको छ न कुनै सामाजिक संस्थाले नै चासो दिएका छन् । घर तथा होटल सञ्चालनबाट संकलित भएको फोहरको व्यस्थापन नभएकै कारण धेरै समस्या भोग्नु परेको स्थानीयले गुनासो गर्न थालेका छन् ।

नगरभित्र संकलन भएको फोहर खुलेआम नदी किनारमा फाल्दा र सार्वजनिक स्थानमा फोहरको थुप्रो लाग्दासमेत नगरपालिकाले फोहर व्यस्थापनको लागि कुनै कार्य अगाडि बढाउन सकेको छैन ।

अव्यवस्थित फोहरका कारण अहिले वातावरण प्रदूषित मात्र नभएर विभिन्न रोगको प्रकोप फैलन थालेको स्थानीय समाजसेवी प्रकाश श्रेष्ठले बताए । मेलम्ची नगरपालिका घोषणा भएको तीन वर्ष बितिसक्दासमेत फोहरको व्यवस्थापन गर्न नगरपालिका चुकेको स्थानीयले आरोप लगाएका छन् ।

फोहर व्यवस्थापन गर्नका लागि सरकारले नगरपालिकालाई फोहर बोक्ने गाडीसमेत उपलब्ध गराएको छ तर नगरपालिकाले फोहर फाल्ने स्थान अभाव देखाउँदै पन्छिँदै आएको छ ।

फोहर व्यवस्थापनसम्बन्धमा नगरपालिका प्रमुख डम्बर अर्यालले उपयुक्त स्थानको अभाव भएकाले फोहर व्यवस्थापन गर्न नसकेको स्वीकार गर्छन्। नगरपालिकाको १०, ११, र १२ नं वडाको स्थान अहिले डम्पिङ साइडको छनोटको रुपमा रहेको र कुन चाहिँ उपयुक्त हुन्छ भन्नेबारे अझै नगरपालिकाले निर्णय लिन सकेको छैन ।

फोहर व्यवस्थापनको लागि भनेर नगरपालिकाको प्रत्येक वडामा फोहर राख्ने ठाउँ बनाइएको छ । फोहर राख्ने ठाउँमा फोहर कुहिएर दुर्गन्धित हुन्छ तर फोहर लिन नगरपालिकाको गाडी एकपटक पनि नआएको मेलम्ची नगरपालिका–१०, शिखरपुरका स्थानीय टोलबहादुर खड्का बताउँछन ।

वातावरण सन्तुलन राख्न नगरपालिकाले मुख्य चासो दिनुपर्नेमा नगरपालिका आफैँ मुकदर्शक बनेकाले तत्काल फोहर व्यवस्थापनको आशा टरेको अर्का स्थानीय भीमप्रसाद दुलाल बताउँछन् ।

अव्यवस्थित फोहरले बजारको स्वरुप नै कुरुप भएको बताउँदै स्थानीयले फोहर व्यवस्थापनका लागि पटकपटक नगरपालिकामा कुरा राख्दासमेत बेवास्ता गर्ने गरेको र अब नगरपालिका छिटोभन्दा छिटो फोहर व्यवस्थापन गर्नेतर्फ केन्द्रित हुनुपर्ने स्थानीयको माग छ ।

२०७३ साउनमा तत्कालीन नगरपालिका प्रमुख जिम्मेवारी सम्हालेका पूर्णप्रसाद दुलालले फोहर व्यवस्थापनका लागि भन्दै इन्द्रावती नदी किनारमा तीन लाख बजेट विनियोजन गरी फोहर फाल्ने खाल्डो बनाएका थिए ।

नगरपालिका जस्तो संवेदनशील निकायले देशको प्राकृतिक सम्पदामाथि खलल पर्ने गरी नदी किनारमा फोहरको खाल्डो खनेको र बस्ती नजिकै उक्त खाल्डो बनाएको विषयलाई स्थानीयले सर्वत्र विरोध गरेका थिए ।

बस्ती नजिकै फोहरको खाल्डो र यसले वातावरणमा पर्ने दीर्घकालीन असरको विषयमा स्थानीयले नदीको किनारमा फोेहरको खाल्डो खनेकोप्रति आपत्ति व्यक्त गर्नुका साथै नदी किनारमा फोहर फाल्न दिएका थिएनन् ।

मेलम्चीमा इन्टरनेट वाइफाइभन्दा पनि पहिलो प्राथमिकता फोहर व्यवस्थापनलाई दिनुपर्ने मेलम्चीका स्थानीय कुमार दुलालले बताए । रासस ।

Leave a Reply

Your email address will not be published.