चिसोका कारण झापा जिल्ला प्रभावित

चिसोका कारण झापा जिल्ला प्रभावित

 

काठ्माडौं, पुष २३ । शनिबारदेखि झापामा ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै यहाँको जनजिवन नराम्ररी प्रभावित भएको छ । शुक्रबार दिउँसो घाम लागेको झापामा शनिबार बिहान हुस्सु लागेसंगै हावा चलेपछि चिसो झनै बढेको हो ।

अघिल्लो दिनको तुलनामा चिसो बढेपछि जिल्लाका अधिकांश बजार नराम्ररी प्रभावित भएका छन् । भद्रपुरबाट हुने हवाइ उडान पनि हुन सकेको छैन् । जाडो महिना शुरु भएलगत्तै जिल्लामा शीतलहर पनि बढेको छ । विशेष गरी गौरीगञ्ज, गौरादह, शिवगञ्ज, झापाबजार, बनियानी, बगान, भद्रपुर, पृथ्वीनगरलगायतका ग्रामीण बजार र बस्तीका स्थानीयबासी बढी प्रभावित भएका छन् ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेका बुधबारे, विर्तामोड, अर्जुनधारा, कन्काई नगर लगायतका क्षेत्रमा पनि चिसो बढेको छ । बाक्लो हुस्सु र शितलहरका कारण बिहान सवेरै खोलिने बजार पनि नखोलिएको व्यापारीहरुले बताएका छन् ।

चिसोको कारण बालबालिका , बृद्धबृद्धा , गर्भवती, महिला र सुत्केरी बढी प्रभावित बनेका छन् । बाक्लो हुस्सु, चिसो हावा र शितलहरले पूर्वपश्चिम राजमार्गमा समेत अघिल्ला दिनको तुलनामा सवारी साधनको चाप घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

चिसोबाट बच्नका लागि न्यानो लुगा लगाउन, चिसो हावा चलेको बेला हिंडडुल नगर्न, दाउरा बालेर आगो ताप्न तथा तातो झोल पदार्थ पिउन चिकित्सकले सुझाव दिएका छन् । चिसोको कारण झाडापखला, खोकी लगायतका रोग देखा पर्ने भन्दै चिकीत्सकले रोगबाट बच्न सतर्क आफै हुनुपर्ने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published.