कार्यक्रम गरिन्छ, न्यूनिकरण हुन गाह्रो

कार्यक्रम गरिन्छ, न्यूनिकरण हुन गाह्रो

रत्ननगर,२४ मंसिर
हिंसा न्यूनीकरणका लागि कार्यक्रम गरिएपनि न्यूनीकरण हुन नसकेको महिला सरोकारवालाले बताएका छन् ।
रत्ननगर–१, बकुलहरस्थित उज्वल महिला बचत तथा ऋण सहकारी संस्थाले अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा बिहीबार रत्ननगरमा आयोजित ‘हिंसा न्यूनीकरण’ विषयक गोष्ठीमा यस्ता बताइएको हो ।
कार्यक्रममा ओम शििन्त राष्ट्रिय प्राथमिक विद्यालयकी प्रधानाध्यापक राधा चौधरीले जतिनै कार्यक्रम गरेपनि हिंसा न्यूनीकरण हुन नसकेको बताइन् । “कार्यक्रम धेरै गरिन्छ, अन्त्यको के कुरा हिंसा घट्नुका साटो बढ्दै छ” प्रधानाध्याक चौधरीले भनिन् । नवदुर्गा आमा समूहकी अध्यक्ष एञ्जिला कुँवरले १६ दिन मात्रै अभियान चलाएर नहुने भन्दै यस्ता कार्यक्रमलाई व्यापकता दिनुपर्ने बताइन् । “हाम्रो समाजमा छोराछोरीलाई गर्ने व्यवहार अहिले पनि फरक छ”, अध्यक्ष कुँवरले भनिन्, “नयाँ पिढिले यस्तो विभेद गर्नुहुन्न, यसका लागी सचेतना आवश्यक छ ।”

laingik-himsa-1
अन्य सहभागीले भने हिंसा न्यूनीकरणका लागि गरिने कार्यक्रमको सन्देशलाई वर्षभरि आत्मसाथ गर्न सके समाजमा विद्यमान हिंसा न्यूनीकरण हुने सरोकारवालाहरुले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले १६ दिने अभियानले वर्षका अरु बाँकी दिन विभेद अन्त्य गर्न उत्प्रेरित गर्ने बताए । “रातारात परिवर्तन सम्भव छैन”, कार्यकारी अधिकृत गैरेले भने, “१६ दिने अभियानका क्रममा गरिने कार्यक्रमको सन्देश सबैले आत्मसाथ गर्नुपर्छ, त्यसले विभेद अन्त्य गर्न उत्प्रेरित गर्छ ।”
धेरै हिंसाको कारण पुरुष हुने भएकाले यसको न्यूनीकरणका लागि पुरुषलाई नै जिम्मेवारी दिनुपर्ने उनको सुझाव थियो । इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले भएका हिंसाहरु लुकाउने प्रवृत्ति अझैपनि रहेको भन्दै प्रहरी, स्थानीय निकाय तथा अदालतमा उजुरी दिन सकिने व्यवस्था रहेको बताए । प्रहरी नायब उपरीक्षक रञ्जितकारले सामाजिक सञ्जालबाट सकारात्मक भन्दा पनि नकारात्मक असर परिरहेकाले आफ्ना छोराछोरीप्रति बढी चासो दिनुपर्ने बताए ।
सहकारी संस्थाकी अध्यक्ष ऋतु गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिति रत्ननगरका अध्यक्ष बाबुराम गौतम, रनपा–१ का वडा सचिव सूर्यप्रसाद ढुंगानालगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा अधिवक्ता फूलमाया रानाभाट र महिला तथा बालबालिका कार्यालयकी अधिकृत कलावती ओझाले हिंसाका प्रकार, हिंसापछिका कानूनी उपचार, हिंसा हुन नदिन अपनाउनुपर्ने सजगताबारे सहजीकरण गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.