लागूऔषध नियन्त्रणदेखि इलाकासम्मको माग

 

 

धु्रवराज खनाल

रत्ननगर,१७ मंसिर ।
कालिका र रत्ननगर नगरपालिकाका सरोकारवालासँग लागूऔषध नियन्त्रणदेखि इलाका प्रहरी कार्यालयसम्मको माग गरेका छन् । इलाका प्रहरी कार्यालय टाँडीमा बिहीबार भएको परिचयात्मक तथा सुझाव संकलन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनमा हालै सरुवा भई आएका प्रहरी उपरीक्षक दीपक थापासमक्ष उनीहरुले यस्तो माग गरेका हुन् ।
युवाहरु लागूऔषधबाट फस्ने क्रम बढ्दै गएकाले नियन्त्रण गर्न र कालिका नगरपालिका क्षेत्रका विभिन्न ठाँउमा आपराधिक क्रियाकलाप भइरहेको र अपराधी लुक्ने ठाँउसमेत भएकाले यस नगरको कुनैपनि स्थानमा इलाका प्रहरी कार्यालय राख्न सरोकारवालाको माग गरे । कालिका नगरपालिकाका स्थानीयवासी एवं नेकपा एमाले चितवनका सदस्य विनोद रेग्मीले घनाबस्तीको रुपमा विकास हुँदै गएको कालिका नगरपालिकामा ‘क’ श्रेणीको इलाका प्रहरी कार्यालय स्थापना गर्न माग गरे । “कालिका नगरपालिकामा जनसंख्याको चाप धेरै छ”, रेग्मीले भने, “नगरको जुटपानी वा शक्तिखोरमा प्रहरी निरीक्षकको कमाण्डमा इलाका प्रहरी कार्यालय स्थापना होस् ।”
कालिका नगरपालिकाअन्तर्गत अहिले जुटपानीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी चौकी छ भने पदमपुरमा हवल्दारको नेतृत्वमा प्रहरी विट छ । “जिल्लाको तराई वेल्टमा घटना घटाएर लुक्न जाने ठाँउ पहाडी गाविस बनेको छ”, चेपाङका क्षेत्रका काम गर्दै आएका केपीकिरण शर्माले भने, “शक्तिखोर, सिद्धिलाई केन्द्रित गरेर प्रहरी कार्यालय स्थापना हुन आवश्यक छ ।” महिला समाजसेवी ज्योती सुनारले युवाहरु लागूऔषधमा फस्ने क्रम बढ्दै गएको भन्दै नियन्त्रणको माग गरिन् । “मेडिकलबाटै लागूऔषधमा प्रयोग हुने सामान बिक्री हुने गरेको पाएको छु”, सुनारले भनिन्, “यसबाट युवाहरु फसिरहेका छन्, मेडिकलमा चेकजाँच गरियोस् ।” अन्य सरोकारवालाले यस क्षेत्रमा शान्ति सुरक्षामा कुनै कन्जुस्याईं नगरी सुरक्षा प्रदान गर्न माग गरे ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर बिसुरालले व्यवसायिकरुपमा चितवन अग्रणी जिल्ला भएकाले कुनैपनि किसिमको बन्द हड्ताल हुन नदिन सुझाव दिए । धेरै प्रकारका व्यक्तिहरु पर्यटकको रुपमा सौराहा आउने भएकाले कुनैपनि हर्कत गरे अन्तर्राष्ट्रसम्म नकारात्मक सन्देश जाने भएकाले सौराहालाई प्राथमिकतामा राखेर काम गर्न संघका अध्यक्ष बिसुरालले माग गरे । कार्यक्रममा रेवान सौराहाका अध्यक्ष राजन भट्टले पर्यटनमैत्री प्रहरी प्रशासन बनाउन जोड दिए ।
पर्यटनको मौसम भएकाले पनि सौराहालाई बढी ध्यान दिन उनको सुझाव थियो । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष भुपेन्द्र अधिकारी, केरा उत्पादक संघका जिल्ला अध्यक्ष विष्णुहरि पन्त, एमाले नगर अध्यक्ष वद्री घिमिरे, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजु अम्गाई लगायतले सुझाव दिएका थिए ।
नागरिकका सुझाव लिइसकेपछि प्रहरी उपरीक्षक दीपक थापा र इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले शान्ति सुरक्षा, अपराध नियन्त्रणका लागि आफूले नागरिककै सहयोगमा काम गर्ने प्रतिबद्धता जनाए । प्रहरी उपरीक्षक थापाले इलाका प्रहरी कार्यालय स्थापनाका लागि नागरिकका तर्फबाट पहल गर्न आग्रह गर्दै आफ्नो तर्फबाट पनि प्रयास गर्ने आश्वासन दिए ।

Leave a Reply

Your email address will not be published.