गुण्डालाई उठ्नै दिन्न : एसपी थापा

 

 

विप्लव काफ्ले

भरतपुर,१५ मंसिर
चितवनमा नयाँ प्रहरी उपरीक्षक (एसपी) दीपक थापा जिल्ला प्रहरी कार्यालयको प्रमुखका रुपमा आएका छन् । भक्तपुर स्थायी घर भएका थापा २०५२ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । दुई विषयमा स्नातकोत्तर गरेका थापाले कानूनमा स्नातकसमेत गरेका छन् । उनले वकिलको लाइसेन्ससमेत लिइसकेका छन् ।

sp-deepak-thapa
प्रहरी सेवामा प्रवेश गरेको ११ वर्षपछि प्रहरी नायब उपरीक्षक (डीएसपी) को पदमा बढुवा भएका थिए । २० वर्षपछि उनी प्रहरी उपरीक्षकका रुपमा बढुवा भए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोे मध्यपश्चिम क्षेत्रीय कार्यालय प्रमुख थापा १३ महिनापछि चितवन आएका हुन् । उनले डीएसपीका रुपमा खोटाङमा २२ महिना, महाराजगञ्ज प्रहरी वृत्त काठमाडौंमा १९ महिना मोरङ, सुनसरी, मकवानपुरलगायत ठाउँहरुमा काम गरे । कार्यालय प्रमुखका रुपमा उनले जिम्मेवारी पाएको चितवन तेह्रौं कार्यालय हो । उनले चितवनका यसअघिका एसपी बसन्तबहादुर कुँवरसँगै काम गरिसकेका छन् ।
चर्चित प्रहरी अधिकृतहरु सर्वेन्द्र खनाल, रमेश खरेल, प्रद्युम्न कार्कीलगायतको कमाण्डिङमा काम गर्ने मौका पाइसकेका छन् । यूएन मिसनमा उनी सुडान र लाइबेरियामा १५÷१५ महिना काम गर्ने मौका पाए । पहिलो संविधानसभाको चुनावका बेला एकै रातमा चारवटा प्रहरी चौकी जलाउँदा उनी खोटाङ जिल्लामा कार्यरत थिए । उनकै अग्रसरतमा घटनाका आरोपी र लुटिएका हतियार फिर्ता गराउने काम भएको थियो । चितवनमा मंगलबार पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा उनले भने, “चितवनमा गुण्डा को–को रहेछन्, म हेर्छु, फ्याउरे गुण्डा होलान्, बाघ आइसकेको छ, अब उनीहरु दुलामा जान्छन् ।”
महाराजगञ्ज, विराटनगर, बुटवलजस्ता क्षेत्रका गुण्डाहरुलाई तह लगाएको स्मरण गर्दै उनले भने, “अब दुलाबाट उठ्न दिन्न, मेरो अपरेशन चल्छ ।” राजनीतिक दलको आग्रहमा कानूनबमोजिम कारबाही गराउने कार्यलाई प्रभावित गर्ने काम नहुने उनको जिकिर छ । जिल्ला सुरक्षा समितिका जिम्मेवार व्यक्तिहरु हेरफेर हुँदा अपराधिक मानस्थिति भएका व्यक्तिहरुले चलखेल गर्न लागेको खबर आफूले पाएको भन्दै शान्ति सुरक्षा कायम गराउन आफू लागिपर्ने उनले बताए ।
“शान्ति सुरक्षा खलल पुग्न नदिन, कानूनी राज्य कायम गराउन प्रतिबद्ध छु”, उनले भने, “चितवनलाई सुरक्षित बनाउन प्रहरी परिचालन सशक्त बनाउँछु ।” उनी सोमबारबाट जिल्ला प्रहरी कार्यालय चितवनमा हाजिर भएका छन् । उनी आएलगत्तै अस्पताल क्षेत्र अगाडिका पार्किङ निषेधित क्षेत्रमा पार्किङ कार्य रोक्न जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई कडा निर्देशन दिइसकेका छन् । नारायणगढ बजारको अस्तव्यस्तता हटाउन छिट्टै विशेष कार्ययोजना ल्याइने जानकारी पनि उनले दिए । प्रहरी कार्यालयमातहतका इञ्चार्जहरुलाई बोलाएर शान्ति सुरक्षा कायम गराउन सशक्त भूमिका निर्वाह गर्न निर्देशन दिइसके । प्रहरीको आन्तरिक शुद्धीकरण गर्न कुनै सम्झौता नगर्ने उनले स्पष्ट पारे । जिल्लाका अन्य सुरक्षा निकायसँग समन्वय गरी चितवन सुरक्षित बनाउन लाग्ने बताए ।
जिल्ला प्रहरी कार्यालयको भौतिक पूर्वाधार विकास भइसकेको भन्दै उनले कार्यसम्पादनलाई अझै सुधार्न पहल गर्ने जिकिर गरे । नागरिक र प्रहरीको सहकार्य बलियो बनाउन थप भूमिका निर्वाह गर्ने उनको भनाइ छ । “राजनीतिक दलको प्रेसर मेरा लागि अनुरोध मात्रै हो”, उनले भने, “कानूनबमोजिमको कुरा भएमात्रै सुझाव लिन्छु, अन्यथा कानूनबमोजिम कारबाही गर्न डराउन्न ।” उनले जिल्ला प्रहरी कार्यालय चितवनले छिट्टै शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका नयाँ कार्यक्रम ल्याउने तयारी गरेको बताए । “जिल्ला प्रहरी कार्यालय यो वर्ष तराईको उत्कृष्ट कार्यालय बन्यो”, उनले भने, “कार्यालयको कार्यसम्पादन अझै राम्रो बनाउने काम गर्छु, नराम्रो काम हुन दिन्न ।” राम्रो काम गर्न खोज्दाखोज्दै नराम्रो काम हुने अवस्था आएमा हात खडा गरेर जिल्ला छाड्ने उद्घोषसमेत उनले गरे ।

Leave a Reply

Your email address will not be published.