बहुमत गुमाए पनि टेरेसा मे पुनः बेलायतको प्रधानमन्त्री

बहुमत गुमाए पनि टेरेसा मे पुनः बेलायतको प्रधानमन्त्री

आफ्नो पार्टीको  पूर्ण बहुमत हुँदा हुँदै झनै दरिलो मतादेशको लागि भन्दै बेलायतमा आम निर्वाचनको आव्हान गरेर बहुमत गुमाएकी  बेलायती प्रधानमन्त्री टेरेसा मे गठबन्धन सरकारको नेतृत्व गर्दै पुनः प्रधानमन्त्री बन्ने भएकी छन्।

भर्खरै सम्पन्न आम निर्वाचनमा उनको कन्जरभेटिभ पार्टीले गत निर्वाचनको तुलनामा आफ्नो  १३ सिट गुमाउँदै बेलायती संसदको ६५० सिट मध्ये ३१८ सिट जितेर अल्पमतको ठूलो पार्टी बने पनि सरकार गठनको लागि आवश्यक ३२६ सिट पुर्‍याउन नसक्दा गठबन्धनको प्रस्ताव अगाडि आएको हो।

चुनावमा १० सिट मात्र हासिल गरेको उत्तरी आयरल्याण्डको डेमोक्र्याटिक यूनियनिस्ट पार्टी (डीयू पी) सँगको गठवन्धन गर्दै मे ले सरकार गठन गर्ने ‘डील’ भएपछि संसदमा पाचौँ स्थानमा रहेको डीयूपी सरकारमा सामेल हुने अवसर मिलेको हो।

आफ्नो बहुमत प्राप्त पार्टीलाई युरोप बहिर्गमन (ब्रेक्जीट)  मामिलामा दरिलो बन्ने आकांक्षा सहित चुनावको आव्हान गरेपछि प्राप्त नतिजामा बहुमत गुमाउँनाले प्रधानमन्त्री मे लाई ठूलो आलोचना र राजनैतिक झट्काको सामना गर्नुपरेको छ। तर उनले प्राप्त नतिजाको बावजुत देशको वर्तमान अन्यौलको अवस्थालाई फत्ते गर्न आफैंले नेतृत्व गर्ने  बताएकी छन्।

प्रमुख प्रतिपक्षी लेबर पार्टीले गत निर्वाचनमा भन्दा ३० सिट बढाएर आफ्नो संसद संख्या २६२ पुर्‍याएको छ । सामाजिक सुरक्षा, समावेशिता तथा  नरम ब्रेक्जिटको मुद्दामा चुनावी ताका आफ्नो प्रभाव बढाउन सकेका बिपक्षी नेता जेरेमी कोर्विनको लेबर पार्टीलाई जवान तथा आप्रवासीहरुको धेरै मत प्राप्त भएको बताईको छ।

Leave a Reply

Your email address will not be published.