अत्याधुनिक हतियार सहित चिनियाँ सेना भारत सिमानामा

अत्याधुनिक हतियार सहित चिनियाँ सेना भारत सिमानामा

एजेन्सी: चीनले भारतसँग विवादमा परेको भुटानको सिमाना नजिकैको डोकलाममा आफ्नो सेनाका लागि घरसहितका अत्याधुनिक सैन्य पूर्वाधार निर्माण गरेको छ ।

चीनले यहाँ ठुलो परिमाणमा  सैनिकका लागि पूर्वाधार निर्माणलाई तीब्रता दिएको हो । उसले आफ्नो निर्माणकार्यलाई बैध भएको पनि बताएको छ । भारत र भुटानसँगको सीमावर्ती क्षेत्रमा रहेका आफ्ना सेनाको दैनिक जीवन सहज बनाउनका लागि आफुले यस्ता पूर्वाधार बनाइरहेको जानकारी चीनले दिएको हो । यी पूर्वाधारले सीमावर्ती क्षेत्रमा बसिरहेका सेनालाई रात बिताउन पनि सहज हुने स्पष्टिकरण दिएको छ ।

केही दिनअघि डोक्लाममा चीनले विशाल सैन्य क्याम्प बनाइरहेको समाचार आएको थियो । यो सैन्य कम्प्लेक्समा आफ्ना सेनालाई सबै किसिमका सुविधा उपलब्ध गराउने चीनले जनाएको छ । स्याटेलाइटबाट प्राप्त तस्बिरमा पनि चीनले यहाँ ठुला संरचना बनाइरहेको देखिएको थियो ।

यसभन्दा अघि गत साल चीनले यस क्षेत्रमा सडक बनाउँदा भारतले त्यसको विरोधमा सेना उतारेको थियो । त्यसक्रममा भारतीय र चिनियाँ सेनाबीच युद्धको अवस्था पनि पैदा भएको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार नयाँ निर्माणबारेमा सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले भनेका छन्, ‘मैले यसबारेमा समचार पढेको छु । डोकलामबारे स्याटेलाइटबाट आएका भनिएका यी तस्बिरको आधिकारिकताबारे मलाई थाहा भएन । अहिले मसँग यसबारेमा विस्तृत जानकारी पनि छैन ।’

केही भारतीय सञ्चारमाध्यममा आएका समाचार अनुसार डोकलाममा सैन्य सं‌रचना बनाएर चीनले भारतसँग टकराव बढाउन खोजिएको जिकिर गरिएको छ । डोकलाम इलाका भूटानको सिमानासँग जोडिएको छ। भुटानसँग जोडिएको डोकलाममा कस्ता पूर्वाधार बनाइएको छ ? भन्ने प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कुटनीतिक उत्तर दिएका छन् ।

‘डोङ्गलाङ्ग (डोकलाम) इलाकामा चीनको दृष्टिकोण प्रष्ट छ । डोङ्गलाङ्ग सदैव चीनको भूभाग रहँदै आएको छ’, उनले भनेका छन्, ‘यो भूभाग अहिले पनि चिनियाँ अधिकारीको पूर्ण निगरानी र नियन्त्रणमा छ ।’

उनले डोकलाममा पूर्वाधार तीब्र गतिमा बनाउने काम भइरहेको बताउँदै यसले सीमावर्ती इलाकामा रहने सैनिक तथा स्थानीय जनता दुवैलाई फाइदा पुग्ने पनि दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published.