माथिल्लो तामाकोशीको दुई अर्ब ६३ करोडको साधारण शेयर आउँदै

माथिल्लो तामाकोशीको दुई अर्ब ६३ करोडको साधारण शेयर आउँदै

काठमाडौं, माघ २१- माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्न लागेको हो ।

माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनीका कम्पनी सचिव रामसुन्दर श्रेष्ठका अनुसार आगामी चैतको पहिलो साता साधारण शेयर जारी गर्ने गरी आवश्यक तयारी गरिएको छ ।

श्रेष्ठका अनुसार आयोजना प्रभावित स्थानीय दोलखावासीलाई कूल पूँजीको १० प्रतिशत बराबरको साधारण शेयर बिक्री गरिने छ ।

स्थानीय बासिन्दाले रु एक अर्ब पाँच करोड ९० लाख बराबरको रु एक करोड पाँच लाख ९० हजार कित्ता साधारण शेयर पाउने व्यवस्था गरिएको छ ।

यस्तै, आयोजनाले आमनेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्ने छ । सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गरिने छ ।

स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई छुट्याइएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको शेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत गरिने छ ।

कम्पनीले शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा गत कात्तिकमा नै आवेदन दिएको थियो । एकाध दिनभित्रै त्यसको स्वीकृति प्राप्त हुने कम्पनी सचिव श्रेष्ठको भनाइ छ । बोर्डबाट स्वीकृति प्राप्त भएलगत्तै कम्पनीले आह्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

शेयरमा आवेदन दिन अनिवार्य रुपमा हितग्राही (डिम्याट खाता० खोल्नुपर्ने छ । सो खाताबिना शेयर भर्न नपाइने भएकाले तत्काल हितग्राही खाता खोल्नसमेत कम्पनीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

आयोजनाले स्थानीय बासिन्दालाई अतिप्रभावित, प्रभावित र कम प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ । गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएका क्षेत्रलाई प्रभावित र आयोजनाले कुनै पनि असर नगर्ने जिल्लाका अन्य भूभागलाई कम प्रभावित क्षेत्रमा राखिएको छ ।

कम्पनीको तयारीअनुसार स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरमा आवेदन दिन पाउने छन् ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म भौतिक निर्माण ९४ प्रतिशत सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published.