‘जिग्री र पाँडेले नै भद्रगोल छोडेर हिडेका हुन्’

‘जिग्री र पाँडेले नै भद्रगोल छोडेर हिडेका हुन्’

नेपाली हाँस्य टेलिसिरियल ‘भद्रगोल’ मा भुकम्प आएको छ । यसका चर्चित कलाकारहरु ‘जिग्री’ अर्थात कुमार कट्टेल र ‘पाँडे’ अर्थात अर्जुन घिमिरे ‘आउट’ भएका छन् र भद्रगोलका पुराना निर्देशक शंकर आचार्य ‘इन’ भएका छन् । भद्रगोलमा किन यस्तो हेरफेर ? प्रस्तुत छ, यही विषयमा केन्द्रीत रहेर निर्देशक शंकर आचार्यसँग गरेको ५ प्रश्न –

१. भद्रगोलमा तपाईको ‘कमब्याक’ कसरी भयो ?

– हो, भद्रगोलमा म फेरि आएँ । किनकी भद्रगोल अहिले सिकिस्त विरामी छ । विरामी भएको भद्रगोललाई उपचार गरौकी भन्ने लाग्यो अनि मिडिया हबको अनुरोधमा आएँ ।

२. यो भन्दा पहिले आफ्नो छुट्टै ‘प्रोजेक्ट’ गर्ने भनेर छोड्नुभएको थियो, अहिले फेरि आउनुभयो नी किन ?

– मैले आफ्नै ‘प्रोजेक्ट’को लागी भद्रगोल छोड्नुभन्दा पनि कार्य व्यस्तताले त्यतीबेला भद्रगोल छोडेको हो । नभ्याएको कारणले छोडेको हो ।

म ४० वर्षदेखि कलाकारिता क्षेत्रमा लागेको मान्छे, म जुनसुकै माध्यमबाट भएपनि दर्शकहरुसँग ‘हर्ट टु हर्ट कनेक्सन’ गरिराख्न चाहान्छु । त्यसैले भद्रगोल छोड्नुभन्दा पहिले दर्शकहरु माझ आउने प्लान बनाएको थिए । सोही अनुसार ‘कस्तो कस्तो’ नामको कमेडी सिरियल बनाएँ । ‘कस्तो कस्तो’ कमेडी सिरियल प्रसारणको पूर्व सन्ध्यामा आईपुगिसेको थियो । तर अचानक भद्रगोलमा भद्रगोल भएछ । त्यसैले मलाई अचानक मिडिया हबबाट भद्रगोल मैले नै गर्नुपर्ने भनेर अनुरोध आयो ।

मैले मेरो आफ्नो छुट्टै सिरियल बनाईसकेको र प्रासरण हुनको लागी पूर्ण तयारी भइसकेकोले भद्रगोल नगर्ने अठोट व्यक्त गरेँ । तर भद्रगोलको टिमले भद्रगोल बन्द गर्ने निर्णय गरेको कुरा सर्वप्रथम मिडिया हबबाटै जानकारी पाए ।

मिडिया हब मार्फत तपाईको अनुभव दक्षता कार्यक्षमता र तपाईको भद्रगोलको सुरुवाती क्रमदेखिको मेहनत अथक प्रयास र भद्रगोललाई आजको दिन सम्म यहाँसम्म ल्याउनको लागी दिनुभएको योगदान कदर गर्दै टिमले भद्रगोल बन्द गर्ने निर्णय गरेकोले भद्रगोल बन्द नगरी तपाई मार्फत भद्रगोल सुचारु गर्नुपर्यो भन्ने प्रस्ताव आयो ।

भद्रगोल बन्द गर्नुभन्दा चलाउनु पर्छ भनेर मिडिया हबले चलाएको हो । मेरो मिडिया हबसँग झण्डै डेढ दशक देखिको भावना जोडिएको र दर्शकहरुको भावनामा पनि चोट नपुगोस् भन्ने हेतुले अत्यन्त संकटको अवस्थामा मैले जोखिम उठाउने निर्णय गरेको हुँ ।

३. जिग्री र पाँडेलाई ननिकालि पनि भद्रगोल अघि बढ्न सक्थ्यो होला नि ?

– उहाँहरुलाई निकालेको होइन । उहाँहरु नै बन्द गरेर हिँड्नु भएको रहेछ । र, निर्देशकको नाताले उहाँहरुलाई फेरि भद्रगोलमा फर्काउने प्रयास गर्नेछु ।

४. भद्रगोलको कथावस्तु फरक हुन्छ, कि पुरानै ?

– हिजो शुक्रबारको श्रृंखला त हेर्नुभयो होला ? निस्वार्थ भावले हेर्ने दर्शकले मन पराउनुभएको छ । तर विगतका कलाकारहरु नहुँदा केही दर्शकले आक्रोश पनि पोख्नुभएको छ । उहाँहरुले खल्लो महसुस गनुएभएको छ । किनकी अगाडी कै कलाकारहरु उहाँको मन मस्तिस्कमा छन् । त्यो हटाउन समय त अवश्य पनि लाग्छ ।

भद्रगोलको स्वाद पुरानै रहन्छ । हामीले फेरि कथावस्तु परिवर्तन गर्न खोज्यौं भने त्यो त भद्रगोल नै रहेन । कथावस्तु परिवर्तन भन्दा पनि राजनीतिक रुपमा नगई सामाजिक विकृति विसंगतिहरुलाई ठट्यौली पाराबाट गर्ने भन्ने कुरा हो । सकभर भद्रगोलकै पुराना कलाकारहरुलाई ल्याउनुपर्छ भन्ने धारणा मिडिया हबको पनि भएकोले कथा पहिले कै हुन्छ । मात्र प्रस्तुतिमा केही फरक हुन सक्नेछ ।

५. अन्तिममा केही भन्नु छ ?

– भद्रगोलका दर्शकलाई हिजोको ‘एपिसोड’मा पहिलेका कलाकार नहुँदा पक्कै पनि खल्लो लाग्यो होला । मलाई पनि दुःख लागेको छ । तर हामी विस्तारै उपचार गर्दै लाने छौँ । समय लाग्ला तरपनि हामीले साथीहरुलाई ल्याउने प्रयास गर्ने छौं ।

म कुनै नयाँ मान्छे होईन । ४० वर्षदेखि कलाकारिता क्षेत्रमा छु । यत्रो अवधिमा मैले पहिलो पटक यत्रो ठूलो कदम चालेको छु, बाध्यताले । यदी दर्शकले माया र साथ दिनुभयो भने वर्षौसम्म यो यात्रा जारी रहने छ ।

Leave a Reply

Your email address will not be published.