खर्च कति लाग्छ कपाल प्रत्यारोपण गर्न ?

खर्च कति लाग्छ कपाल प्रत्यारोपण गर्न ?

कपाल प्रत्यारोपणलाई चिकित्सा विज्ञानले सफल भएको प्रमाणित गरिसकेको छ । विश्वमा १९५० सालबाट मानिसको कपाल प्रत्यारोपण गर्न सुरु गरिएको हो । त्यसयता नेपालमा पनि थुप्रै प्रयास नभएका होइनन्, तर पुराना स्रोतसाधनबाट भएका थिए । पछिल्लो समय नयाँ प्रविधिहरूको आविष्कार विश्वसमुदायमाझ भइरहेका छन् । विश्वका सम्पन्न देशहरूमा त्यही प्रविधिका आधारमा उपचार भइरहेको छ ।

तर, हामी अविकसित देश भएका कारणले पनि समयमा नयाँ–नयाँ प्रविधिहरू ल्याउन सक्ने अवस्थामा छैनौँ । मैले आफैँ २०१३ मा कपाल प्रत्यारोपणसम्बन्धी तालिम लिएँ । तालिमको सिलसिलामा एक वर्ष इजरायल बसेँ । म इजरायलबाट स्वदेश फर्केलगत्तै एउटा टिम बनायौँ । सो टिमलाई स्किल ल्याबमा लगेर प्रत्यारोपण गर्न सिकायौँ । त्यसपछि जनावरमा प्रयोग गर्‍यौँ । जनावरमा सफल भएपछि मानिसमा सुरु गर्‍यौँ ।

तालुमा गरिन्छ प्रत्यारोपण

कपाल तालुमा रोपिन्छ, पछाडि होइन । यो जिनमा भर पर्छ, कुनै रोग होइन यो वरदान हो । यसमा एक प्रकारको इन्जाइम हुन्छ । यो जेनेटिक हुन्छ, निधार र तालुमा जसले बाक्लो कपाललाई पातलो बनाउने काम गर्छ । यो इन्जाइमले गर्दा २० वर्षपछि कपाल झर्दै जान्छ । कतिपयले यसलाई मानसिक रोगको संज्ञासमेत दिने गरेका उदाहरण पनि छन् । बिजनेस मेन, आइटी, बैंकर्स, एनआरएन क्षेत्रमा आबद्ध भएका मानिसका लागि प्रत्यारोपण बढी आवश्यक पर्छ ।

कसरी कपाल रोपिन्छ

कपाल रोप्न पहिला बेर्ना तयार गरिन्छ । टाउकाको पछाडिपट्टिको भागमा धेरै कपाल हुने हुँदा सो ठाउँबाट कपाल निकालेर २० डिग्री सेन्टिग्रेड तापक्रमभित्र राखेर ६ घन्टाभित्रै रोपिसक्नुपर्छ । त्यतिन्जेलसम्म कपाललाई मर्न नदिन स्लाइनपानीमा राखिन्छ । ‘प्रतिवर्ग सेन्टिमिटरमा ४० देखि ५० वटा बेर्ना रोपिन्छ ।

पोलेको दागबाट सुरु

हामीले मृत मानिसको शरीर, जनावर हुँदै मानिसको पोलेको ठाउँमा प्रत्यारोपण गर्न सुरु गर्‍यौँ । सफल हुँदै जाँदा नेपालका ३५ जना चिकित्सकलाई कपाल प्रत्यारोपणबारे आवश्यक तालिम पनि दिएका छौँ । लामो अध्ययनपछि मात्रै २०१६ बाट नेपालमा औपचारिक रूपमा प्रत्यारोपण सुरु गरेका हौँ । यो अध्ययनले मात्रै सम्भव हुने विषय होइन । हामीले एक वर्षको अन्तरालमा सयजनाभन्दा बढी मानिसको कपाल प्रत्यारोपण गरेका छौँ । त्यो सबै सफल भएको उदाहरण हामीसँग छ ।

कपाल रोप्ने दुई तरिका

एक छाला काटेर अर्को मेसिनबाट गर्ने । हामी दुई तरिकाले नै गर्छौँ । छाला काटेर गर्दा टाँका लगाउनुपर्छ भने अर्को मेसिनबाट गरिन्छ । काटेर गर्दा खत हुन्छ ।

काटेर रोप्दा

– कपाल रोपेको स्थानमा खतबस्न सक्छ ।

– एक–दुई हप्ता दुख्न सक्छ ।

– रगत धेरै बग्न सक्छ ।

– काममा फर्कनलाई दुई हप्ता लाग्न सक्छ ।

मेसिनबाट रोप्दा

– कपाल रोपेको ठाउँमा टाँका लगाउनुपर्दैन ।

– मेसिनको प्रयोग हुन्छ ।

– एक–दुई दिन दुख्ने हुन्छ ।

– रगत धेरै बग्दैन ।

– काममा चाँडै फर्कन सकिन्छ ।

खर्च

यो धेरै महँगो पनि छैन । सुरु–सुरुमा प्रतिकपाल ३० रुपैयाँले प्रत्यारोपण गरिँदै आएकोमा हाल बढाएर ८० रुपैयाँ पुर्‍याएको छ । सरकारले पटक–पटक ट्याक्स बढाएका कारण यसमा केही महँगो पर्न गएको हो । उपचारका लागि सबै सामान अमेरिकाबाट आउने र बिहान ४ देखि बेलुका ७ बजेसम्म समय लाग्ने हुँदा केही रकम बढ्न गएको हो ।

 

-डा. धर्मेन्द्र कर्ण, छाला रोग तथा सौन्दर्य विशेषज्ञ, धुलिखेल अस्पताल

 

Leave a Reply

Your email address will not be published.